काठमाडाैं- त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु फेरि आन्दाेलित भएका छन्। आफ्ना माग पूरा नभएपछि उनीहरु फेरि आन्दाेलित भएका हुन्। लामो समयदेखि पढाइरहेकालाई करारमा नियुक्त गर्नुपर्ने उनीहरुकाे माग छ।
आन्दाेलनस्वरुप नेपाल आंशिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय विभाग र देशभरका आंगिक क्याम्पसमा तालाबन्दी गर्न निर्देशन दिएकाे छ। आइतबार देशका केही क्याम्पसमा तालाबन्दी पनि भएकाे छ।
माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको धवलागिरी क्याम्पस इकाइ प्राध्यापक संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंले बताए। आंशिक प्राध्यापकहरुले फागुनदेखि पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन्। झन्डै चार वर्षअघि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई करार नियुक्ति दिनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आन्दोलित भएका हुन्।
माग पूरा नभए दुई दिनपछि क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने धवलागिरी क्याम्पसका प्राध्यापक संघका सचिव सरोजराज पन्तले बताए।
यसअघि पटकपटक धर्ना बसेका आंशिक प्राध्यापकको माग सम्बोधन गर्न त्रिविले अनुगमन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनउपर छलफल गरी कार्यकारी सभामा एजेन्डा लैजान अर्को समिति गठन भएको छ। नयाँ नियुक्त भएका त्रिवि पदाधिकारीले आफूहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने आंशिक प्राध्यापकहरूले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।