नेपालगञ्ज- जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मंगलबार राति १२ः०० बजेसम्मका लागि लागू हुने गरी सिल गरेको छ। सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन। जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा नेपाली सेनाले निगरानी गर्नेछ। नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ। सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा स्वयं खटिएका छन्।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संंकट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।