काठमाडाैं- मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रहेकाले मंगलबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने जनाएकाे छ। उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका रहेकाे छ। साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।