काठमाडौं– नेपाल बंगलादेशमा जारी एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल समूह ए को उप–विजेताको रुपमा अन्तिम चारमा पुगेको हो। बंगलादेश समूह ए को विजेताको रुपमा अन्तिम चारमा पुगेको छ।
नेपालले अब बुधबार हुने सेमिफाइनल खेलमा समूह बीको विजेता तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता किर्गिस्तान र उज्वेकिस्तानलाई पराजित गरेको तुर्कमेनिस्तानले सोमबार अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
नेपाल सेमिफाइनलमा पुग्नका लागि सोमबारको खेलमा बंगलादेश कुनै पनि अवस्थामा विजयी हुनुपर्ने थियो। पराजित भएको अवस्थामा समेत माल्दिभ्सले सोझो सेटमा जित हात पार्नुपर्ने थियो। बंगलादेशले आवश्यक नतिजा निकालिदिएपछि सोमबार मैदान बाहिरै रहेको नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो।
नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले सेमिफाइनलमा पनि नेपाली टोलीले सशक्त प्रदर्शन गर्ने बताए।
‘सेमिफाइनलको एक जितले हामी कम्तीमा कास्य जित्नेछौं’, प्रशिक्षक भट्टले भने, ‘त्यसैले सेमिफाइनलमा हामी सशक्त प्रदर्शन गर्नेछौं।’
उनले तुर्कमेनिस्तान तुलनात्मक रुपमा सहज प्रतिष्पर्धी रहेको पनि बताए।
नेपाली टोलीले सेमिफाइनलमा जित हात पारे उपाधिको सम्भावना मात्रै बढाउने छैन, कम्तीमा रजत पदक पक्का गर्नेछ। नेपालले गत वर्ष माल्दिभ्समा भएको प्रतियोगिताबाट नेपालले कास्य पदक जितेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली भलिबलले जितेको त्यो नै पहिलो र एकमात्र अन्र्तराष्ट्रिय पदक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।