कालिकोट- किशाेरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कालिकोटको खाँडाचक्र नगरपालिका-६ का वडाध्यक्ष जगदीश शाहीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। कालिकोट जिल्ला अदालतले शुक्रबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
एक किशोरीलाई बलात्कार गरेको अभियोगमा शाही पक्राउ परेका थिए। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई कालिकोट जिल्ला कारागार चलान गरिएकाे छ।
जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए।
शाहीलाई प्रहरीले असार ३१ गते पक्राउ गरी जबरजस्ती करणीअन्तर्गत अदालतमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको थियो। शाहीले १६ वर्षीया किशोरीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको अभियाेगपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।