काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालयका प्रमुख उप-प्रबन्धक रितेश गुप्तालाई नियन्त्रणमा लिएको छ। शनिबार १ करोड २४ लाख ९१ हजार १४५ रुपैयाँ बराबरका चेकसहित उनलाई सिन्धुलीबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको भुक्तानी दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले गुप्तालाई जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.९ बाट उक्त कार्यालयका चेकहरु तथा सोसँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिएको हो।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।