काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु शय्या थप्ने तयारी गरेको छ।
२ सय ४० आइसियु शय्या थप गर्नका लागि प्रक्रिया अगाडी बढाइएको मन्त्रालयले जनाएको छ। हाल देशभर करीब २ हजार ६ सय आइसियु शय्या र ९ सय भेन्टिलेटर छन्।
जसमध्ये कोभिड १९ को उपचारका लागि २ सय ५० आइसियु शय्या र भेन्टिलेटर थप गरिएको मन्त्रालयले जनाएको छ।
अस्पताल बाहेक आइसोलेसन केन्द्रहरुमा थप हजार शय्याको व्यवस्था गर्न मन्त्रालयले सात वटै प्रदेशलाई दुई महिना अघि नै ३८ करोड रकम निकासा गरेको थियो। मन्त्रालयका अनुसार प्रदेश २ र ५ लाई ७/७ करोड, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई ६/६ करोड, बागमति र गण्डकी प्रदेशलाई ४/४ करोड रकम वितरण गरिएको छ।
गम्भीर प्रकृतिका १ सय ५ सय जनासम्म बिरामीको उपचारका लागि औषधि र आइसियुको सामग्री मौज्दातमा रहेको मन्त्रालयले जनाएको छ। प्रयोगशाला सामग्री र व्यक्ति सुरक्षा सामग्री पिपिई दुई महिनाका लागि पुग्ने गरी स्टकमा रहेको मन्त्रालयले जनाएको छ।
हब अस्पताल, शिक्षण संस्था तथा प्रतिष्ठान अन्तर्गत सञ्चालित अस्पताल गरी कुल ३६ वटा अस्पताल र १ सय १५ कोभिड क्लिनीक सञ्चालन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।