सप्तरी- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट शनिबार एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सरका देवनारायण यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका यादवको स्थानीय युनिक अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिम गइरहेको साइकलयात्रीलाई स१०प ८४९८ नंको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।
यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित पोखरीमा डुबेर एकजना बालकको समेत मृत्यु भएको छ। स्थानीयवासी राधेकुमार मण्डलको ५ वर्षीय छोरा शिवम मण्डलको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।
घर नजिकैको पोखरीमा नुहाउन गएको बेला शिवम पोखरीमा डुबेको स्थानीयवासीले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।