प्रतीकात्मक तस्बिर
गाेरखा- गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा पर्ने बेनिघाट–आरुघाट सडकखण्ड पहिराले अवरुद्ध भएको छ। शनिबार बिहान गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।
बेनिघाट बजारदेखि करीब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले जानकारी दिए। 'बेनिघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्', उनले भने, 'पहिरो हटाउनका लागि मेसिन खोज्ने काम भइरहेको छ।'
पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नरहेको वडाध्यक्ष लामिछानेको भनाइ छ। झण्डै ७० मिटर माथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।