काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानिय श्रोतबाट अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा वितरण गर्दै आएको अतिआवश्यक औषधिहरु गुणस्तरहिन पाइएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले विभिन्न ब्याचका औषधिहरु गुणस्तरहीन पाइएको हो। परिषदले गरेको अध्ययनका क्रममा १५ दशमलव १६ प्रतिशत औषधि गुणस्तरहिन पाइएको छ।
परिषदले ‘नेपालको स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिहरुको गुणस्तर सम्बन्धि अध्ययन अनुसन्धानका नतिजा’को संक्षिप्त प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार परिषदले २० वटा जेनेरिक औषधिहरुको २४४ वटा ब्याचको अध्ययन गरेको थियो। अध्ययनमा ३७ वटा ब्याचहरुको उचित गुणस्तर नपाइएको अनुसन्धानको संक्षिप्त प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार गुणस्तरहिन फेला परेका ३७ वटा ब्याचमा २३ वटा संघीय सरकारले वितरण गरेका औषधि छन् भने १४ वटा ब्याच स्थानीय श्रोतबाट खरिद भएका औषधि छन्।
गुणस्तर फेल भएका औषधिहरुमा प्यारासिटामोल, आइरन चक्की, सिप्रोफ्लोक्सासिन हाइड्रोक्लोराइड, मेटफर्मिन हाइड्रोक्लोराइड ट्याब्लेट, मेट्रोनिडाजोल ट्याब्लेट, पारासिटामोल पेडियाट्रिक ओरल सस्पेन्सन, पोभिडोन–आयोडिन सोलुसन रहेका छन्।
सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा वितरण गर्नका लागि अतिआवश्यक औषधिको सूचीमा ७० वटा औषधिलाई राखेको छ।
‘औषधि सेवन मूलत रोग वा बिमारी निको पार्नका लागि गरिन्छ तर सोही औषधि उचित गुणस्तरको नहँुदा त्यसले जनस्वास्थ्यमा नकारात्मक तथा गम्भिर असर पार्दछ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।
परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार यस अध्ययनमा नेपालभरिका २१ वटा जिल्लाहरु समावेस छन्। अध्ययनका लागि नेपालको सातै वटा प्रदेशबाट पहाडी, हिमाली र तराईका जिल्लाहरु अनुपातिक रुपमा छनौट गरी ती प्रत्येक जिल्लाहरुबाट एउटा अस्पताल, एउटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र चयन गरिएको थियो।
औषधि भण्डारण निर्देशिका विपरित
अध्ययनले औषधिको भण्डारण समेत निर्देशिका विपतिर गरेको देखाएको छ। ५ वटा क्षेत्रीय मेडिकल स्टोरमध्ये २ वटाले निर्देशिका अनुसार औषधि भण्डारण नगरेको अध्ययनले देखाएको हो। यसका साथै औषधि भण्डार कोठाको तापक्रम १५ देखि २५ डिग्री सेल्सियससम्म हुनुपर्नेमा स्वास्थ्य संस्थाहरुमा १९ देखि ३७ डिग्री सेल्सियससम्म र क्षेत्रीय मेडिकल स्टोरहरुमा ३० देखि ३७ डिग्री सेल्सियससम्म तापक्रम तथ्यांक संकलनको बेलामा मापन भएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी औषधि भण्डार कोठाको आद्रता ६० प्रतिशतभन्दा कम हुनुपर्नेमा तथ्यांक संकलनको बेलामा स्वास्थ्य संस्थाहरुमा ४० देखि ८६ प्रतिशत र क्षेत्रीय मेडिकल स्टोरहरुमा ६१ देखि ७७ प्रतिशतसम्म आद्रता मापन भएको पाइएको छ।
यस अध्ययनमा कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरहरु संलग्न थिए। संरचित प्रश्नावलीको प्रयोग गरी स्वास्थ्य संस्थाहरु र क्षेत्रीय मेडिकल स्टोरहरुका ईन्चार्जसँग अन्तर्वार्ता लिईएको थियो। प्रत्यक्ष अवलोकनबाट स्वास्थ्य संस्थाहरु र क्षेत्रीय मेडिकल स्टोरहरुका औषधि भण्डार कोठाको अवस्था रेकर्ड गरिएको थियो। साथै भण्डार कोठाको तापक्रम र आद्रता डिजिटल उपकरणबाट मापन गरी रेकर्ड गरीएको थियो। स्वास्थ्य संस्था तथा क्षेत्रीय मेडिकल स्टोरहरु बाट २० वटा जेनेरिक औषधिहरुको कुल २४४ ब्याचहरु संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परिक्षणका लागि पठाइएको थियो । सबै तथ्याङ्क र औषधिहरु दक्ष तथा तालिम प्राप्त फार्मेसिष्टहरुद्वारा संकलन गरीएको थियो।
‘स्वास्थ्य संस्थाहरुमा प्रयोग हुँदै आईरहेका अतिआवश्यक औषधिका केही ब्याचहरु सेवन गर्न अयोग्य रहेको यस अध्ययनबाट पाइएको छ । त्यस्तै स्वास्थ्य संस्थाहरु तथा क्षेत्रीय मेडिकल स्टोरहरुमा औषधि भण्डारण निर्देशिका पूर्णरुपमा पालना नगरिएको देखिएको छ,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘तसर्थ नेपाल सरकार तथा सम्बन्धित निकायको यस विषयमा गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ। साथै जनमानसमा सुरक्षित औषधि सेवन सुनिश्चित गर्न तत्कालै आवश्यक कदम चाल्न जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।