काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्ति, संचार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ। प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गुरुयोजना तयार गर्ने, तेह्रथुमको चुनडाँडामा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिर्पोट तयार गर्ने लक्ष्य राखेको छ।
यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आइटी नीति तयार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन योग्य बनाउने गरी बजेट तय गरिएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।