काठमाडौं- सर्वोच्च अदालतमै एक जनालाई कारोना संक्रमण भएको र देशभर संक्रमितको संख्या वृद्धि हुँदै गएपछि आत्यावश्कीय कामकारबाही र सेवा मात्र सञ्चालनमा ल्याउने निर्णय सर्वोच्च अदालतले गरेको छ।
काठमाडौं उपत्यकामा दैनिक संक्रमितको संख्या वढ्दै गएकोले सर्वोच्च अदालतबाट प्रदान हुने सेवामा मात्र सीमित गरिएको सर्वोच्चले जनाएको हो।
बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले बन्दीको निवेदन, रिट निवेदन दर्ता र सुनुवाई अन्तरिम आदेश छलफल, थुनुवा रहेको मुद्दाहरु जस्ता मुद्दा मात्र सुनुवाई गर्ने निर्णय गरेको छ।
सर्वोच्चका उपरजिष्ट्रार देवेन्द्र पौडलले हस्ताक्षर गरेको विज्ञप्तिमा अदालतको सेवा प्रवाहमा संकुचन ल्याएको जनाइएको छ।
सर्वोच्चले लकडाउन अवधिलाई शून्य अवधि मान्दै एक महिनाभित्र म्याद लिने र मुद्दाको प्रक्रिया बुझ्न सेवाग्राहीलाई यसअघि बोलाएको थियो। तर अदालतमै संक्रमित भेटिएको, अख्तियार र अन्य सरकारी कार्यालयका साथै उपत्यकाभित्र समुदायस्तरमै कोरोना देखिन थालेपछि केही सेवा रोक्ने निर्णय सर्वोच्चले गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।