काठमाडौं- एसिड पीडित युवतीहरूले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा सजायको माग गरेका छन्। उनले विद्यमान कानुनले पीडितको पीडा महसुस गर्न नसक्ने भएकाले कानुनमै सुधान गर्न समेत माग गरेका छन्।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले सोमबार गरेको पीडित तीन युवतीहरु मुस्कान खातुन, जेनी खड्का तथा संगिता मगर सहित गृह मन्त्रालय; महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा राष्ट्रिय महिला आयोगका प्रतिनिधिसहित गरेको छलफलमा पीडित तिनै युवतीले आफ्नो भोगाई बताएका हुन्।
उनीहरुले आफ्नो आर्थिक अवस्थादेखि कमजोर कानुनी व्यवस्थाका कारण भविष्यमा यस्ता घटनाहरु दोहोरिने सम्भावनाहरुका विषयमा चिन्ता व्यक्त गरेका हुन्।
'अहिले पनि म हप्ताको २ पटक अस्पताल जानुपर्छ। म एकदम चिन्तित छु, मेरो अपरेशन कहाँबाट हुन्छ भनेर। कतैबाट पनि सहयोग आएको छैन। यतिखेर मेरो बाबाको काम पनि छैन। मैले गर्दा मेरोसँगै भाइबहिनीको पनि पढाई रोकिएको छ', मुस्कान खातुनले भनिन्।
उनले आर्थिक अभावका कारण डाक्टरले दिनमा चार पाँच पटक लगाउनु भनेको औषधि पनि एक पटक मात्रै लगाउने गरेको बताइन्।
अर्की पीडित जेनी खड्काले आर्थिक समस्याकै कारण आफूले १५ दिन बढी अस्पतालमै बिताउनुपरेको बताइन्। 'डिस्चार्ज गर्ने पैसा नभएर म अस्पतालमा १५ दिन त्यतिकै बस्नुपर्यो। पछि एकजना दिदीले फेसबुकमा पोस्ट गरिदिनुभयो र सहयोग जुट्यो', उनले भनिन्।
पीडित युवतीहरुले कानुनमा सुधार गर्न समेत आग्रह गरेका छन्। 'कानुन नै बलियो बनाउनुपर्छ। त्यो भयो भने हामीमाथि भएजस्तो आक्रमण अरुलाई हुँदैन। कानुन बलियो नहुँदा ममाथि आक्रमण भएको पाँच वर्ष भइसक्दा पनि यस्तो घटना निरन्तर भइसकेको छ', संगित मगरले भनिन्।
उनले आक्रमणकारीले आफूलाई खासै सजाय नहुने भएकाले मनोबल उच्च बनाउने गरेको बताइन्। खड्काले त खास सजाय नहुने भएकैले आफूले अदालत धाउन पनि छाडिदिएको बताइन्। 'म अहिले अदालत भएको छैन। यो मुद्दा एक वर्षदेखि चलिरहेकै छ। अहिलेसम्म सुनुवाइ भएको छैन। मलाई त्यहाँ जानै मन छैन। उसलाई सजाय होस् वा नहोस्, मलाई मतलबै छैन। किनकि, मैले पढेअनुसार एक त पाँच वर्षदेखि आठ वर्षसम्मको सजाय, त्यो पनि अनुहारै कुरुप भएको छ भने। अरु अंगको त अर्थ नै छैन। मेरो त हात र घाँटीभर छ। अलिकति अनुहार बचेको छ, मेरो भाग्यले हो। उसलाई सजाय दिन मेरो अनुहार कुरुप बनाउनु? त्यो त भएन नि। जहाँ परे पनि पीडा त उस्तै हो नि', उनले थपिन्, 'क्षतिपूर्ति पनि एक लाखदेखि पाँच लाखसम्मको छ। त्यो पनि चाहिँदैन। त्यसले हुनेवाला केही छैन।'
खड्काले एसिड आक्रमण भयो भने उसको उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्।
खातुनले पनि सरकारले उपचारको व्यवस्था गरिदिनुपर्ने बताइन्। 'सरकारले पीडितले चाहेअनुसार जागिरको पनि व्यवस्था गर्नुपर्यो। र, पढ्ने व्यवस्था गरिदिनुपर्यो', उनले थपिन्।
उनले आफूमा देशको लागि केही गर्ने सपना सानेदेखि रहेको र अहिले पनि त्यही सपना लिएर अघि बढेको बताइन्। 'यस्तो घटना भयो तर पनि मेरो सपनालाई टुट्न दिएको छैन। जसरी भए पनि पूरा गर्छु। त्यो अपराधीले मेरो मुख जलाएको छ, मेरो सपना जलाएको छैन। म यसरी नै अगाडि बढ्छु, सबैजनाको हौसल्ला पाएर म धेरै नै बलियो भएको छु', उनको भनाई छ।
खातुनले एसिड बेच्नेलाई पनि कारबाहीको माग गरिन्।
उनले आफूहरुको पिडा बुझ्न सबैलाई आग्रह गरिन्। 'हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ। त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्मकैद नै हुनुपर्छ', उनको भनाई छ, 'सबैभन्दा ठूलो पीडा हाम्रो आमाबाबुलाई हुन्छ। किनकि, हाम्रो बिग्रेको अनुहारले हामीलाई भन्दा आमा बुबालाई रुवाउँछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।