जयपुर- आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। आइतबार जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थानले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो।
लिगमा मुम्बईको यो पाँच खेलमा चौथो हार हो। खराब लयमा रहेको मुम्बई अंक तालिकामा दिल्ली डेयरडेभिल्सपछि पुछारबाट दोस्रो स्थानमा छ। राजयस्थानले भने ६ खेलमा ३ जित हात पारेको छ।
आइतबार मुम्बईले दिएको १ सय ६८ रनको लक्ष्य राजस्थानले २ बल खेल्न बाँकी छदा ७ विकेटको नोक्सानीमा पार गर्यो। राजस्थानका लागि कृष्णाप्पा गोथामले ११ बलमा ३३ रन जोडे। अन्तिम ओभरमा जितका लागि १० रन चाहिएको अवस्थामा उनले १ चौका र १ छक्का प्रहार गरे। उनले कुल ४ चौका र २ छक्का प्रहार गरे। यस्तै सन्जु सामसनले ५२ तथा बेन स्टोक्सले ४० रन बटुले।बलिङतर्फ मुम्बईका जसप्रित बुमराह र हार्दिक पाण्ड्याले २-२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १ सय ६७ रन जोड्यो। मुम्बईका लागि ओपनर सूर्यकुमार यादवले ४७ बलमा ७२ रन जोडे। उनले ६ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर केभिन लेभिस शून्य रनमा आउट हुँदा इशान किसानले ५१ र केइरन पोलार्डले २१ रन जोडे। बलिङमा राजस्थानका जोफ्रा एर्चरले ३ तथा धवन कुलकर्णीले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।