काठमाडौं- विश्वका विभिन्न गन्तव्यबाट शनिबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १ हजार १४ जना नेपाली काठमाडौं भित्रिएका छन्। विमानस्थल कार्यालयका अनुसार ६ वटा उडानमार्फत् ६ जना बच्चा पनि नेपाल आएका छन्।
साथै शनिबार नै दुबईबाट दुईवटा शव नेपाल आएको छ। सरकारले हवाई उडान प्रतिबन्ध गरेपनि चार्टर उडानमार्फत् विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरिएको हो। साथै शनिबार नै नेपालबाट १५ जना बाहिरिएका छन्।
विमानस्थल कार्यालयका अनुसार आबुदाबीबाट ३ बच्चासहित २ सय ७९ जना त्यसैगरी कुवेतबाट एक बच्चासहित १ सय ४९ नेपाली स्वदेश फर्किएका छन्।
त्यस्तै दुबईबाट २ सय ५६, दोहाबाट १ सय ५३ र सारजाबाट १ सय ६८ नागरिक नेपाल आएका छन्। विमानस्थल कार्यालयका अनुसार शनिबार अन्तर्राष्ट्रियतर्फ ११ वटा उडान तथा अवतरण भएका छन्।
शनिबार नै आन्तरिकतर्फ ६ वटा हेलिकोप्टर उडान भएको छ। हेलिकोप्टर उडान मार्फत् ५ जना काठमाडौं आएका छन् भने १२ जना काठमाडौंबाट बाहिरिएका छन्।
साउन १८ गते आइतबार भने अन्तर्राष्ट्रियतर्फ १३ वटा उडान तथा अवतरण हुने भएको छ। जसमा नेपाल एयरलाइन्सका ४ वटा उडान तथा अवतरण, हिमालय एयरलाइन्सको ४ वटा उडान तथा अवतरण गरी एक दर्जनभन्दा बढी उडान तथा अवतरणको सेड्युल तयार भएको विमानस्थल कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।