पाल्पा- कोभिड–१९ महामारीका कारण पाल्पाको ऐतिहासिक भगवती तथा रणउजेश्वरी जात्रा यो वर्ष स्थगित भएको छ। जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाको निर्यणानुसार यस वर्ष जात्रा ननिकाल्ने निर्णय भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए।
विजयोत्सवका रुपमा मनाइने भगवती जात्रा हेर्न विभिन्न जिल्लाबाट दर्शकहरु यहाँ आउने गर्छन्। जात्रामा मानिसको ठूलो भीड लाग्ने भएकाले निरन्तर मनाउँदै आएको जात्रा यस पटक स्थगित गरिएको अध्यक्ष उदयको भनाइ छ।
कर्णेल उजिरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीनतले मन्दिर पूरा गरेका थिए। तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेको थियो। युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। आफ्नो भाकल पूरा भएपछि उनले तानसेनमा भगवतीको मन्दिर बनाएका हुन्।
राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ। विसं १८७७ देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको जात्रा निकालिँदै आएको छ। यसैगरी, पाल्पामा निकालिने गाईजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, नारायण जात्रा, गणेश जात्रा, कृष्ण जात्रालगायत जात्रा तथा पर्व यो वर्ष नगरिने भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, तानसेन नगरपालिका, विश्व हिन्दू महासङ्घ, विभिन्न गुठी सङ्घसंस्थाहरु र सरोकारवालाको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको छ।
कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा यस वर्ष जात्रा तथा महोत्सव नगर्ने निर्णय भएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।