काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समितिको निर्वाचन वैशाख २२ मा गर्न निर्वाचन समितिले सिफारिस गरेको छ।
एन्फाको निर्वाचन समितिको आइतबार बसेको बैठकले उच्च अदालत पाटनमा परेको मुद्दा सल्टिएको अवस्थामा वैशाख २२ मा निर्वाचन गर्न सकिने निर्णय गरेको हो। तर मुद्दा खारेज नभए वा यसअघिको अन्तरिम आदेशले निरन्तरता पाए निर्वाचन गराउन नसकिने समितिले जनाएको छ।

यसअघि मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले आफूहरुलाई मताधिकारबाट बञ्चित भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। रिटको सुनुवाइपछि उच्च अदालत पाटनले एन्फा निर्वाचन तत्कालका लागि रोक्न आदेश दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो।
अहिले दुवै जिल्लामा निर्वाचन भइ मताधिकार पाइसकेको अवस्था छ। त्यसपछि एन्फाले निर्वाचन रोक्न जारी भएको अन्तरिम आदेश विरुद्ध पाटन उच्च अदालतमा भ्याकेट (बदर गर्न वा रद्द गर्न) निवेदन दर्ता गराएको थियो।
आगामी निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।