फाइल तस्बिर
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नयाँ सेवा सुविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ एक गतेबाट सञ्चालनमा आउने बताएका छन्।
शुक्रबार विमानस्थलको निरिक्षण गदै मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माणकार्य सम्पन्न भइसकेकाले भदौ १ गतेदेखि नयाँ सेवा सुविधासहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन्।
कोभिड १९ का कारण चार महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको मन्त्री भट्टराईको दाबी छ। उनले विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताए। त्यस्तै १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको उनले बताए।
लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएकाले गर्दा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वाससमेत मन्त्री भट्टराईको छ।
यसअघि विमानस्थलमा जहाज पार्किङ कम हुँदा आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था थियो। विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन्। यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङ स्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत मन्त्री भट्टराईले बताए।
उनले अराइभल हलको निर्माणकार्य पनि सम्पन्न भइसकेको बताए। मन्त्री भट्टराईले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण भएकाले विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभुति गर्न पाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।