काठमाडौं- त्रिचन्द्र क्याम्पसले नेपाल राष्ट्रिय पुस्तकालयको जग्गामा क्याम्पस स्थानान्तरणसम्बन्धी हालै बाहिरिएका समाचारहरू गलत एवं भ्रामक भएको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुख प्रा डा सुनिल अधिकारीले स्थान्तरणसम्बन्धी कुनै पनि सम्झौता सम्बन्धित निकायसँग त्रिचन्द्र क्याम्पसको तर्फबाट नगरिएको जनाएका छन्। स्थानान्तरण गर्ने योजनामा त्रिचन्द्र क्याम्पसको असहमति रहेको समेत उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ‚ ‘एक सय वर्षभन्दा बढी पुरानो ऐतिहासिक पुरात्विक एवं शैक्षिक भवन तथा अन्य भवन प्रयोगशाला कक्षा कोठाहरू भुकम्पले क्षतिग्रस्त भएको सम्बन्धित निकायलाई ध्यानकार्षण गराउँदा पनि सुनुवाइ नभएको हुँदा क्षति ग्रस्त भवनहरु बनाउन पुनः अपिल गर्दछौं।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साउन १३ गते नेपाल राष्ट्रिय पुस्तकालयको जग्गामा त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्नेगरी बृहत् टुँडिखेल गुरुयोजना सार्वजनिक गरेको थियो।
प्राधिकरणले त्रिचन्द्रको सहमति लिएको भनेपनि त्रिचन्द्रले भने प्राधिकरणले पुनर्निर्माण नगरेर भ्रामक समाचार प्रकाशन गरेको आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।