नेपालगन्ज– आर्शिवाद पेन्ट्स नेपालगन्ज कपको आइतको खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएको छ। रोल्पाले चौथो जित निकाल्ने क्रममा एबरोल टिएमटी लुम्बिनी यात्रीजलाई ४ रनको झिनो अन्तरले हराएको हो। ५ खेलमा ४ जितसँगै रोल्पा शीर्ष स्थानमा उक्लिएको छ।
रोमान्चक खेलमा अन्तिम ओभरमा रहदा ६ रन चाहिएको लुम्बिनी १ बल बाँकी छदा अलआउट भयो। १ सय ४२ रनको लक्ष्य पछ्याएको लुम्बिनी १ सय ३७ रनमा अलआउट भयो।
टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले ७ विकेटको क्षतिमा १४१ रन जोडेको थियो। रोल्पाका लागि ओपनर तथा कप्तान सौरभ खनालले २७ रन, भीम सार्कीले २३ रन, आकाश थापाले २९ रन र नन्दन यादवले ४० रन जोडेका थिए। बलिङमा लुम्बिनीका सोम शर्माले सर्वाधिक ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए ।
जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको लुम्बिनीका कप्तान कृष्ण कार्कीले ३५, बसिर अहमदले २४ रन तथा कुसल मल्ल तथा विशाल खत्रीले समान २०-२० रन जोडेका थिए। खेलको अन्तिम ओभरमा निकै राम्रो बलिङ गर्दै रोल्पाका बलर भीम सार्कीले बसिर अहमदलाई आउट गराउदै टिमलाई जित दिलाएका थिए। अन्तिम ओभरमा भिम सार्कीले २ विकेट लिएका थिए । यस्तै बसन्त कार्कीले पनि २ विकेट लिएका थिए। खेलमा २३ रन तथा २ विकेट लिएका रोल्पाका भीम सार्की म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा अर्घाखाची सिमेन्ट बर्दिया टाइर्गसले जिसान बाँके ब्लास्टरलाई ७ विकेटले हराएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बाँकेले ६ विकेटको क्षतिको १ सय ४० रन जोड्यो। बाँकेका लागि ओपनर तथा कप्तान महेश क्षेत्रीले नटआउट ४८ रन बनाए भने अर्का ओपनर बिपिन रावलले २३ रन जोडे। विशाल केसीले १६ तथा रोमन बमले १३ रन जोडे। बलिङतर्फ बर्दियाका दुर्गेस गुप्ता तथा भरत थापाले समान २-२ विकेट लिए।
१ सय ४१ रनको लक्ष्य बर्दियाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पार गर्यो। कप्तान सुवेन्दु पाण्डेले नटआउट ४६ रन, राजवीर सिंहले ३५ बलमा ४३ रन बनाए तथा विश्वास श्रेष्ठले १९ रन जोडे। खेलका म्यान अफ द म्याच ४६ रन बनाएका बर्दियाका कप्तान सुवेन्दु पाण्डे घोषित भए।
सोमबार लिगको आफ्नो अन्तिम खेल दंगाली गोर्खाज र पाल्पा योद्याजबीच तथा दोस्रो खेलमा लुम्बिनी यात्रीज र बर्दिया टाईर्गसबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।