काठमाडौं–पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्ने गरी गुरुयोजना आएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनास हुने गरी गुरुयोजना आएको भन्दै विरोध जनाएका छन्।
पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्राचीन बस्ती र धार्मिक महत्वबीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयको माग छ। पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले नेपालको सभ्यता र पहिचान बोकेको मौलिक संस्कृति, मूर्त अमूर्त सम्पदा तथा प्राचीन बस्ती तथा संस्कृति नै विस्थापित गर्ने गरी ल्याइएको गुरुयोजनाको विरोध गरिएको बताए। उनले गुरुयोजना विनासकारी र अदूरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गरे।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्ती हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ। त्यसैको विरोध गर्दै स्थानीयले संवेदनशील पाशुपत क्षेत्र ‘ग्वल’ लाई पशुपति क्षेत्र विकास कोषले खेलबाड गरी विनाश र विध्वांशात्मक नीति लिएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।