काठमाडौं– आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारत १० स्वर्ण र ३ कास्य जित्दै पहिलो भएको छ। पहिलो दिन ४ स्वर्ण जितेको भारतले दोस्रो दिन आइतबार थप ६ स्वर्ण जित्यो।
नेपालले २ स्वर्णसहित ६ रजत र १३ कास्यपदक जित्न सफल भयो। नेपाल दोस्रो हुँदा पाकिस्तान २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै तेस्रो भयो।
लखनखेलस्थित आर्मी स्पोर्ट्स सेन्टरमा आइतबार भएको अन्तिम दिनको खेलमा नेपालका लागि दोस्रो स्वर्ण इन्द्रबाहदुर श्रेष्ठले जिते। उनले पुरुष ६६ केजी तौलसमूहमा पाकिस्तानका बाबर हुनेसलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन्।

७३ केजी मुनी तौलसमूहको फाइनलमा नेपालका सञ्जित डंगोल भारतका अजय यादवसँग पराजित भए।
महिला ७८ केजी मुनी तौलसमूहको फाइनलमा पनि नेपालकी पुनम श्रेष्ठ पराजित भइन्। उनलाई भारतकी जिनादेवी चोआङ्गटोमले पराजित गरिन्।
यस्तै पुरुष ८१ केजी तौलसमूहमा पनि नेपालका सञ्जय महर्जन रजतमै सीमित बने। उनलाई भारतका दिवेशले पराजित गरे।
यसअघि पहिलो दिन नेपालका लागि पहिलो स्वर्ण राजीव श्रेष्ठले जितेका थिए। उनले सय केजी मुनि समूहमा स्वर्ण हात पारेका हुन्। फाइनलमा उनले बंगलादेशका कलाम अजादलाई हराएका थिए।
नेपालकी ओलम्पियन खेलाडी फुपुल्हामु खत्री फाइनलमा पराजित भएकी थिइन्। ६३ केजी मुनि तौलसमूहमा फुपुल्हामु फाइनलमा भारतीय खेलाडी सुनिबालादेवी हुइड्रोमसँग ग्राउन्ड टेक्निकको आधारमा पराजित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।