काठमाडौं- बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले जमलमा नै राष्ट्रिय पुस्तकालय बनाउन काम सुरु गर्न माग गरेको छ। केन्द्रले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय पुस्तकालयको जग्गा रहेको जमलमा नै पुस्तकालय भवन निर्माण कार्य अघि बढाउन आग्रह गरेको हो।
केन्द्रका अध्यक्ष प्रमोद प्रधानले पुस्ताकालय भवन निर्माणको कार्य रोकेर सरकारले आफ्नो उपहास आफै गरेको र भवन निर्माण कार्य रोकेर शिक्षा, पुस्तक र ज्ञान क्षेत्रमा लागेका व्यक्तिहरूप्रति सरकारको दृष्टि नकारात्मक र दुर्भावनापूर्ण रहेको बताएका छन्।
‘२०७२ सालको भूकम्पले नेपाल राष्ट्रिय पुस्तकालय रहेको भवन भत्किएर त्यहाँ रहेका अत्यन्त मूल्यवान् अभिलेख, पाण्डुलिपी र पुस्तकहरू क्रमशः नास हुने स्थितिमा रहेको अवस्थामा जमलस्थित जग्गामा पुस्तकालय भवन बन्ने समाचारले हामी अत्यन्त हर्षित भएका थियौं। तर मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले पुस्तकालय निर्माण रोक्ने निर्णय गरेको खबरले हामी पुस्तकपे्रमी अत्यन्त दुःखित भएका छौं,' अध्यक्ष प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
सो जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग गर्न चलखेल भएको भन्दै केन्द्रले शिक्षा, पुस्तक र ज्ञान क्षेत्रमा लागेका व्यक्तिहरूप्रति सरकारको दृष्टि नकारात्मक र दुर्भावनापूर्ण रहेको केन्द्रको ठहर छ। 'सबै दृष्टिकोणले जमलस्थित जग्गा राष्ट्रिय पुस्तकालयका लागि अत्यन्त उपयुक्त देखिन्छ। पछिल्लो निर्णय खारेज गरेर जमलस्थित जग्गामा राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्य तुरुन्त थालिनुपर्छ,’ केन्द्रले भनेको छ।
सरकारले २०७५ असोज २८ मा जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउने निर्णय गरेपनि साउन ५ गतेको मन्त्रीपरिषद्को निर्णयले पुस्तकालय भवन तत्काल रोक्ने निर्णय गरेको हो। यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सो जग्गामा त्रिचन्द्र कलेज राख्नेगरी गुरुयोजना समेत प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।