काठमाडौं– आगामी भदौंमा इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद (एसियाड) मा नेपालले २७ खेलमा प्रतिस्पर्धा गर्ने प्रस्ताव गरिएको छ।
२७ मध्ये तेक्वान्दोलाई पदकको आशा गरिएको खेलमा राखिएको छ। तर तेक्वान्दोका खेलाडी भने सहभागिताको विषयमा अन्योलमा छन्। एसियाडका लागि दुई पक्षले खेलाडी छनोट गर्दा कसले खेल्न पाउने भन्ने अन्योल बढेको हो।
नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघले एसियाडका लागि छुट्टै-छुट्टै खेलाडी छनोट गरेका छन्। दुवैले १०–१० खेलाडी छनोट गर्दै तयारी थालेका छन्। दुवैले आ–आफ्ना खेलाडीले मात्र खेलाडीले एसियाड खेल्ने दाबी गरेका छन्। 'छनोट पार गरेर तयारी गरिरहदा पनि एसियाड खेल्न पाउछु कि पाउँदिन भन्ने शंका लागिरहेको छ,' एसियाडको छनोट पार गरेका एक खेलाडीले भने, 'जसले गर्दा तयारीमा समेत असर परेको छ।'
यसअघि भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल तेक्वान्दो संघले छनोट गरेका खेलाडीले भाग लिने गरेका थिए। यसपटक भने राष्ट्रिय तेक्वान्दो संघले पनि आफुले छनोट गरेका खेलाडीले भाग लिने दाबी गरिरहेको छ।
एसियाडमा सहभागितालाई लिएर विवाद बढेपछि नेपाल तेक्वान्दो संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय आधिकारिक संघ भएको दाबी गर्दै एसियाडमा आफुले छनोट गरेका खेलाडीले भाग लिने पाउने नेपाल तेक्वान्दो संघले बताएको छ। 'अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालको एक मात्र आधिकारिक संस्था नेपाल तेक्वान्दो संघ हो,' संघका अध्यक्ष प्रकाश शम्शेर राणा भन्छन्, 'यसअन्तर्गत रहेका खेलाडीले मात्र एसियाडमा सहभागिता जनाउन पाउने प्रष्ट प्रावधान छ।'
दुवै संघले छनोट गरेका खेलाडीबीच फेरि प्रतिस्पर्धा गरेर एसियाडमा सहभागी खेलाडीको टुंगो लगाउने प्रस्ताव पनि आफुहरुलाई मान्य नहुने महासचिव दिपराज गुरुङले बताए। 'तेक्वान्दोको आधिकारिक निकाय हामी हौं। अन्य संघका खेलाडीलाई हाम्रो लोगोमा खेलाउन सक्दनौं,' महासचिव गुरुङले भने।
राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्यसचिव युवराज लामाले नेपाल तेक्वान्दो संघ हुँदाहुँदै अर्को उस्तै प्रकृतिको संघलाई परिषदमा दर्ता गराउन अनुमति दिएका थिए। एकै प्रकारका दुई तेक्वान्दो संघ हुँदा धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुददेखि नै विवाद सुरु भएको थियो। घरेलु प्रतियोगितामा मात्र देखिएको विवाद अब भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि देखिएको छ।
गर्विलो इतिहास बोकेको तेक्वान्दोले नेपाललाई दर्जनौं अन्तर्राष्ट्रिय पदक दिलाइसकेको छ। दक्षिण एसियाली खेलकुदमा पाँच पटक सहभागीता जनाउदा नेपाली तेक्वान्दोले २४ स्वर्ण, १४ रजत र ८ काँस्य गरी ४६ पदक जितेको छ। यस्तै नेपालले अन्तर्राष्ट्रिय स्तरमा जितेको अहिलेसम्मकै ठूलो पदक पनि तेक्वान्दोकै खेलाडीले जितेका थिए। सन् १९९८ मा सविता राजभन्डारीले एसियाली खेलकुदमा जितेको रजत पदक नेपाल जितेको अहिलेसम्मकै ठूलो पदक हो। त्यो बाहेक नेपालले एसियाली खेलकुदमा अहिलेसम्म १२ काँस्य जितेको छ।
ओलम्पिकमा छनोट चरण पार गर्ने नेपाली खेलाडी तेक्वान्दोकै छन्। दिपक विष्ट र संगिना बैंद्यले छनोट पार गरेर ओलम्पिकमा खेलेका थिए।
अन्तर्राष्ट्रिय पदक दिलाएको तेक्वान्दो एसियाली खेलकुद अघि विवादमा पर्दा समग्र नेपाली खेलकुदलाई घाटा हुने देखिन्छ। त्यसैले राष्ट्रिय खेलकुद परिषदले सुझबुझपूर्ण निर्णय लिएर खेलाडीमा देखिएको अन्योलता हटाउनु पर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।