कैलाली- बहुउपयोगी बिरुवाको रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन्। कैलालीको चुरे गाउँपालिका–४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन्।
सो सामुदायिक वनले विजयसालको नमूना प्लट तयार गरी ४.५ हेक्टर क्षेत्रफलमा काँडेतारले घेरबार गरेर संरक्षणमा लागेको छ। सामुदायिक वनले विजयसाल संरक्षणका लागि योजना बनाएर संरक्षण गरिरहेको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताए। सामुदायिक वनभित्र रहेका पुराना रूख संरक्षण गरी विजयसालको पुनः उत्पादन बढाउने उद्देश्यले नमूना प्लट बनाएर संरक्षणको काम अघि बढेको उनले बताए। विजयसालको महत्व नबुझ्दा विगतमा घाँस र दाउराका रूपमा प्रयोग गरिँदै आएकामा सामुदायिक वन बनाएपछि त्यसको महत्वबारे उपभोक्ता जानकार भएको विष्टले बताए।
कैलालीको चुरे गाउँपालिकाभित्र ४० वटा सामुदायिक वन रहेका छन्। ती वनमध्ये समैजी सामुदायिक वनमा मात्र विजयसालका रुख देख्न पाइन्छ। विजयसालका पुराना रूख संरक्षण र सम्बर्द्धन गरी बिरुवा हुर्काउन सजिलो हुने स्थानीय उपभोक्ताको भनाइ छ। सो सामुदायिक वनमा विजयसालको नमूना प्लट बनाएर संरक्षण गरिन लागेपछि रूख हुर्काउन सजिलो हुने स्थानीय धनसरा धामीको भनाइ छ।
विगतमा आगलागीका कारण समेत पुनः उत्पादन भएका विजयसालका बिरुवा मर्दै आएका थिए। हाल उपभोक्ताको सक्रियताले वनमा आगलागी हुन नपाउँदा बिरुवा हुर्कंदै गएको जनाइएको छ।
सो वनको नमूना प्लटमा २५० वटा विजयसालका रुख रहेका छन्। नमूना प्लट बनाएर संरक्षणको काम गरिएपछि पछिल्ला वर्षमा विजयसालका नयाँ बोटको सङ्ख्यामा बढोत्तरी भइरहेको स्थानीयबासीको भनाइ छ। डिभिजन वन कार्यालय कैलालीले विजयसाल संरक्षणका लागि तारबार गर्न ४०० फलामे पोल र ८०० किलोग्राम काँडेतार सहयोग गरी रुखमा ट्र्याकिङ गर्ने काम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।