कञ्चनपुर- क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन्। विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएकाले अर्को चर्चा बटुल्न थालेको छ। ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरी शिकार नियन्त्रणलगायतका कारणले बाघको सङ्ख्या बढिरहेको निकुञ्जको भनाइ छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले एउटा बाघले कम्तीमा ४० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने गरेको बताए। ‘क्षेत्रफलका हिसाबले शुक्लाफाँटामा अन्य क्षेत्रको भन्दा धेरै बाघ छ नै,’ प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘यो बाघका लागि राम्रो बासस्थान पनि हो।’
बधुबार विश्व बाघ दिवसका अवसरमा शुक्लाफाँटा निकुञ्ज परिसरमा बाघको होर्डिङ बोर्ड अनावरण गरिनुका साथै बाघ संरक्षण र चुनौतीलगायत विषयमा प्रस्तुति रहेको पौड्यालको भनाइ छ। सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा एकले कमी आएको छ। निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ।
चोरीशिकार न्यूनीकरणका लागि शुक्लाफाँटाको चारैतिर नेपाली सेनाको देवी दल गण खटिएको छ। यहाँको लालझाडी, ब्रह्मदेव र डडेल्धुरा जिल्लाको सिमानालगायतका जङ्गलमा बाघ आवतजावत गर्ने गरेको भए पनि बाघको प्रमुख बासस्थान शुक्लाफाँटा नै भएको निकुञ्जको भनाइ छ। भारतबाट पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको रोजाइमा शुक्लाफाँटा न्यून मात्रामा पर्ने गरेको छ। यहाँबाट आउने पर्यटकहरु धेरैजसो बर्दिया, पोखरालगायत क्षेत्रमा जाने गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ। सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्यामा दोब्बर बनाउने घोषणा गरेको छ। सन् २०१८ को गणनाअनुसार हाल नेपालमा २३५ वटा बाघ छन्।
त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकीय मौसममा लकडाउन हुँदा घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको जनाएको छ। प्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार गत आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी यहाँ १ हजार ७ सय ७५ जनामात्रै पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका छन्।
अघिल्लो आवमा भने शुक्लाफाँटामा ६ हजार ६९ पर्यटकले शुक्लाफाँटा अवलोकन भ्रमण गरेका थिए। ‘लकडाउनले पर्यटक आगमन निकै कम भयो,’ उनले भने, ‘लकडाउनमा अवैध काममा सक्रिय धेरैलाई कारबाहीमा परे।’ शुक्लाफाँटा घुम्न फागुनदेखि जेठसम्मको समय उपयुक्त मानिन्छ।
त्यसैगरी, निकुञ्जले गत आवमा १ करोड रूपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको जनाएको छ। त्यस्तै निकुञ्जभित्रका विभिन्न क्षेत्रमा वन्यजन्तुको पानीको प्यास मेटाउन कृत्रिम ताल निर्माण, सडक सुधार, प्राकृतिक तलाउहरुको सरसफाइलगायत कामहरू भएको पौड्यालको भनाइ छ। शुक्लाफाँटामा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बर्सेनी बाघ गणना तथा अनुगमन भइरहेको छ।
यसअघि बाघको पाइला र दिसापिसाब सङ्कलन गरी बाघको तथ्याङ्क सङ्कलन गरिने गरिएको थियो। तथ्याङ्कअनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रतिवर्गकिलोमटिर आहारा प्रजातिको घनत्व छ।
त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका ८ प्रजातिमध्ये तीन प्रजाति बाली, क्यास्पियन र जाभा लोप भइसकेका छन्। बाँकी रहेका ५ प्रजाति आमुर, सुमात्रा, साउथ चाइना, इन्डो–चाइनिज र रोयल बँगाल (पाटेबाघ) को अवस्था पनि दयनीय रहेको वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाहरुको तथ्याङ्कहरुले देखाएको छ। लोप हुन बाँकी रहेका ५ प्रजातिका बाघहरु नेपाल, भारत, बङ्गलादेश, चीन, भूटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, रसिया, थाइल्यान्ड र भियतनामा मात्रै सीमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।