काठमाडौं- श्रीराम सुगर मिलले औपचारिक रुपमा बन्दको घोषणा गरेको छ। मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको हो।
कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा कार्यरत श्रमिकहरुको कर्मचारी संञ्चयकोष बापतको रकम र पारिश्रमिकसमेत भुक्तानी गर्न सकेको छैन। चालु आर्थिक वर्षमा पनि कम्पनीले जम्मा १३ दिनमात्र क्रसिङको लागि खुलेको कम्पनीले जनाएको छ। गत फागुन १३ गतेदेखि मिल्स पूर्ण रुपमा बन्द रहेको कम्पनीले जनाएको छ।
सुरुका केहि वर्षहरुमा चिनी उद्योग राम्रैसँग सञ्चालनमा आएको भएपनि विगत लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको कम्पनीले सार्वजनिक सूचना जारी गरेको छ। हरेक वर्ष कम्पनी करौंड रुपैयाँको घाटामा जान थालेपछि बाध्य भएर बन्द गर्नु परेको मिलको राय छ।
कम्पनीले उखु किसानलाई करोडौं रुपैयाँ भुक्तानी गर्न सकेको छैन। किसानको बक्यौता भुक्तानी नगरी बन्द गर्ने निर्णय गरेको छ। कम्पनीको चुक्ता पुँजी ३० करोड ४६ लाख रुपैयाँ रहेको छ। कम्पनी बन्द भएसँगै सेयरधनीको उक्त पुँजी डुबेको छ। कम्पनीले आफ्ना सम्पूर्ण दायित्व भुक्तानी गरेपछि मात्रै सेयरधनीले बाँकी रहेको रकम प्राप्त गर्न सक्छन्। सम्पूर्ण जायजेथा बिक्री गरेर प्राप्त भएको रकमबाट किसान, बैंक ऋण, तथा अन्य दायित्व भुक्तानी गरेपछि मात्रै सेयरधनीहरुले प्राप्त गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।