बिर्तामोड- सामाजिक सञ्जालमार्फत् एकजुट भएका युवाहरुको समूहले वृद्धाश्रममा रहेका आमाबुबाका लागि खाद्यवस्तु वितरण गरेका छन्। विश्व आमाबुबा दिवसको उपलक्ष्य पारेर आइतबार रमाइलो ग्रुप परिवार बिर्तामोड झापाले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा आश्रित आमाबुबाहरुका लागि चामल, दाल, तेल र फलफूल वितरण गरेको ग्रुपका एडमिन कृष्ण घिमिरेले बताएका छन्।
उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नकै लागि ग्रुपको सुरुवात गरिएको र आगामी दिनमा अझै यस्ता परोपकारी कार्य गर्दै लैजाने बताए। दिवसको अवसर पारेर आश्रममा आयोजित कार्यक्रमकाबीच खाद्यान्न वितरण गर्नुका साथै उनीहरुलाई खाना खुवाउँदै सम्मानसमेत गरिएको थियो।

त्यस्तै ग्रुपका सदस्य तथा समाजसेवी सन्जिल प्रसाईंले वृद्धवृद्धालाई कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिसमेत वितरण गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।