काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव सोमबार बस्ने मन्त्रीपरिषदले नियुक्त गर्दैछ। आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन नामबाट आज एक सदस्यसचिव हुनेछन्।
जसमा निवर्तमान सदस्यसचिव रमेश सिलवाल सँगै लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम अन्तिम तीनमा रहेको छ। मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदबाट नियुक्त भएका सदस्य सचिवको कार्यकाल चार वर्षको रहनेछ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिमबहादुर रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितिले आवेदन दिनेमध्येबाट एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेश गरेको थियो।
निवर्तमान सदस्यसचिव सिलवालले सफलताका साथ १३औँ दक्षिण एसियाली खेलकुद आयोजना गरेको जस पाएकाले र यसअघि पनि यहि सरकारले नियुक्त गरेकाले उनको सम्भावना बलियो मानिएको छ।
यस्तै सिफारिस समितिले सिफारिस गरेका लिल बहादुर थापा मगर नेकपा नेता नै हुन्। नेकपाका केन्द्रिय सदस्य रहेका थापा तत्कालिन माओबादी केन्द्रका पोलिटब्युरो सदस्य भइसकेका व्यक्ति हुन्। बाग्लुङ स्थायी घर भएका उनको पार्टि राजनीतिकै कारण सम्भावना देखिन्छ। उनी नेपाल भलिबल संघका पूर्वउपाध्यक्षसमेत हुन्।
यस्तै अन्जु श्रेष्ठ पूर्व भलिबल खेलाडी हुन्। राष्ट्रिय टिमको कप्तान रहिसकेकी उनी खेल क्षेत्र बुझेको र खेलाडीको अवस्थाबाट अघि बढेको भए पनि बाँकी दुईको जस्तो बलियो राजनीतिक सम्बन्ध उनको छैन। तीन जनाको नाम सिफारिस गर्दा एकजना महिला अनिवार्य पनि थियो।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ लागू भएसँगै खालि रहेको सदस्यसचिव पदका लागि पहिलोपटक खुला आवेदन मागिएको हो।
आवेदन दिनेहरुले संक्षिप्त कार्ययोजनाको साथमा नेपाली नागरिकताको प्रतिलिपी, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण प्रमाणपत्रको प्रतिलिपी र खेलकुद क्षेत्रमा कम्तिमा पाँचवर्ष काम गरेको अनुभवको प्रतिलिपी पेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।