प्रतीकात्मक तस्बिर
लमजुङ- पहाडी जिल्ला लमजुङमा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा कमी आउन सकेको छैन। प्रेममा धोका खाएर, गलत साथीको सङ्गत, सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घर झगडा, अन्तरजातीय प्रेमलगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ।
आर्थिक वर्ष २०७६/७७ को साउनदेखि असार मसान्तको एक वर्षको अवधिमा ८६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। यीमध्ये ६४ महिला, तीन बालक, १६ बालिका र तीन ज्येष्ठ नागरिक छन्।
हराएकामध्ये ४२ महिला, तीन बालक, १४ बालिका र दुई ज्येष्ठ नागरिक फेला परेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीले बताइन्। उनका अनुसार अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक भेटिएको छैनन्। हराएका महिला तथा बालबालिकाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।
त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा १०५ महिला तथा बालबालिका हराएका छन्। जसमा ७३ महिला, सात बालक, २५ बालिका रहेका छन्। सोमध्ये ५२ महिला, चार बालक र २० बालिका फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै आव २०७३/७४ मा ८० जना महिला र बालबालिका हराएका थिए। जसमा २३ महिला, १२ बालक र १८ बालिका छन्। सोमध्ये २३ महिला, १२ नै बालक र छ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ।
विभिन्न सचेतनामूलक कार्यक्रम जिल्लामा हुँदै आए पनि महिला तथा बालबालिका हराउने सङ्ख्यामा कमी आउन सकेको छैन। जिल्लामा मानव बेचबिखनको घटना भने न्यून रहेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।