काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारी साधनलाई शुक्रबार ट्राफिक कारबाही गरेको छ। ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ।
त्यस्तै, तोकिएको संख्याभन्दा बढी यात्रु राख्ने ३३ वटा सार्वजनिक सवारी साधनलाई कारबाही गर्नुका साथै स्वास्थ्य मापदण्ड अनुसार नचलाइएका १ हजार १५२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइबुझाई पनि गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौतमले सादा पोसाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने र ५० प्रतिशत भन्दा बढी यात्रु राख्नेविरुद्ध कारबाही चलाएको जानकारी दिए।
'यात्रु ठगीका घटना रोक्नका साथै कोरोना संक्रमण रोकथामको लागि सामाजिक दुरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाईजर लगाएको/नलगाएको र ५० प्रतिशत मात्र यात्रु राखे/नराखेको अनुगमन गर्ने विशेष अभियान चलाएको हो,' उनले भने, 'ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना गराईएको छ।'
प्रहरीले आफैँ यात्रु बनि निगरानी गरेर तथा गाडीबाट ओर्लिएका यात्रुसँग जानकारी लिएर उनीहरुलाई कारबाहीको दायरामा ल्याउने गरेको छ।
सार्वजनिक सवारी साधनले बढी भाडा लिएको, सामाजिक दुरी कायम नगरेको, स्वास्थ्य मापदण्ड पूरा नगरी चलाएको सूचना नजिकको ट्राफिक प्रहरी वा हटलाईन १०३ मा जानकारी गराउन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।