धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा हरेक वर्ष मोहना नदीको कटानबाट हैरान भइसकेका छन्। नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले थप सास्ती र त्रास भोगिरहेका छन्। स्थानीय भन्छन्, 'नदी नजिक खुला चौर तथा निर्माणाधीन पुलका कारण मोहना नदीले हरेक वर्ष धार परिवर्तन गरिरहेको छ। कतिबेला नदीको धार बस्तीतिर फर्किन्छ भन्ने डर भइरहन्छ।'
चार/पाँच वर्षअघि कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुलको पश्चिममा रहेको पहिलो र दोस्रो पिल्लरको बीचबाट बग्दै आएको मोहना नदीको भंगालो अहिले धार परिवर्तन गर्दै तेस्रो पिल्लरसम्म आइपुगेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय दुर्गाप्रसाद ओझाले भने, 'मोहना नदीले हरेक वर्ष सात/आठ मिटर कटान गरिरहेको छ।' उनले तीन वर्षको अवधिमा मोहना नदीले आठ/दश बिघा जग्गा कटान गरिसकेको बताए। यो क्रम रोकिएन भने शान्ति सामुदायिक वन र भर्खरै निर्माण गरिएको गौशाला पनि कटानमा पर्ने उनकाे भनाई छ।
विगतमा पश्चिमतिरबाट बग्ने मोहना नदी अहिले पूर्वतिरबाट बगिरहेको छ। स्थानीय चन्द्र चौधरीले भने, 'हरेक वर्ष मोहना नदी कटानका कारण बस्तीमा बाढी पस्ने त्रास कायमै छ। नदी कटानका कारण शान्ति सामुदायिक वनको केही भाग मोहना नदीमै समाहित भइसकेको छ।' मोहना नदीले कहिले कञ्चनपुरतिरको जग्गा कटान गरिरहेको छ भने कहिले कैलालीतिरको जग्गा कटान गरिरहेको छ।
धेरै वर्षा भएमा नदीले कतातिर बढी क्षति पुर्याउँछ भन्ने टुंगो नै हुँदैन। पछिल्ला तीन/चार वर्षदेखि मोहना नदीको धार कैलालीतिर फर्किएको छ। अहिले केही दिनदेखि कैलालीसहित सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। अविरल वर्षाका कारण मोहना नदीको बहाव पनि घटबढ हुने क्रम जारी छ। बिहीबार मोहना नदीमा पानीको बहाव बढेको थियाे।
मोहना नदी अहिले गौशाला र खुल्ला चौरको भागतिरै बगिरहेको छ। स्थानीयहरुले भने, 'लगातार तीन/चार दिन वर्षा हुने हो भने मोहना नदीको बहावले गौशाला र शान्ति सामुदायिक वनमा बढी असर गर्ने खतरा छ।' स्थानीयले मोहना नदीको कटान नियन्त्रण गर्न गत वर्ष बासका काठ राखेर तटबन्धको प्रयास गरेका थिए। 'मोहना नदीले जग्गा कटान नहोस् भनेर हामीले नदी किनारमा बासका काठहरु राखेर तटबन्ध बनायौं, तर गत वर्ष नै तीनचार मिटर कटान गर्यो,' स्थानीयले भने।
चौधरीले मोहना नदीबाट हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न तटबन्धनका कार्यक्रम लागू गर्नुपर्ने बताए। उनले भने, 'फाप्ला क्रिकेट खेल मैदानसम्म अहिले तटबन्धन गरेका कारण नदीबाट हुन सक्ने जोखिम केही कम भएको छ, तर यतातिर अहिलेसम्म काम अघि बढन सकेको छैन।'
२०७० सालदेखि भएका संघीय संसदको निर्वाचन होस् वा पछिल्लो स्थानीय तहको निर्वाचन अथवा प्रदेश सभा सदस्यको निर्वाचनताका प्रत्येक राजनीतिक दल तथा उम्मेदवारहरुले मोहना नदीमा तटबन्धनका कार्यक्रम अघि बढाउने आश्वासन दिएका थिए। तर, स्थानीय निर्वाचन भएको तीन वर्ष भइसकेको छ। त्यस्तै, पछिल्लो संघीय तथा प्रदेश संसदका लागि निर्वाचन भएको अढाई वर्ष बढी भइसकेको छ, तर मोहना नदीमा तटबन्धन कार्यक्रमको सुरसार नै भएको छैन।
दुर्गाप्रसाद ओझाले वर्षेनी मोहना नदीले जमिन काट्दै जाने, तर नेताहरु निर्वाचन जितेपछि फर्केर नआउने हुँदा अब तटबन्धन बन्ने आश मरिसकेको बताए। धनगढी उपमहानगरपालिका पनि मोहना नदीमा तटबन्धन निर्माणको जिम्मेवारी संघीय र प्रदेश सरकारको भएको भन्दै पन्छिदै आएको स्थानीयको आरोप छ। धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले ठूला तटबन्धनका कार्यक्रम नभएकाे बताए। 'हामी प्रदेश तथा संघीय सरकारसंग मोहना नदी कटान रोक्न समन्वय गरिरहेका छौं', उनले भने। नगर प्रमुख वडले आर्थिक वर्ष २०७७/७८ मा जसरी पनि मोहना नदीमा तटबन्धन निर्माण कार्यक्रम अघि बढाउन पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
धनगढी उपमहानगरपालिकाले हरेक वर्ष डुबान रोक्न नाली सरसफाइ अभियान सञ्चालन गरिरहेको जनाएको छ। नगर प्रमुख वडले खोला तथा नाली अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्दा उपमहानगरपालिकामा डुवानको जोखिम बढेको बताए। 'हामीले खोलानाली अतिक्रमण हटाउने प्रयास गरिरहेका छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।