प्रतीकात्मक तस्बिर
चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो। सो पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो। राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।
पालुङ–नौबिसे खण्ड खुल्यो
टिस्टुङ: सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ–नौबिसे खण्ड पुनःसञ्चालनमा आएको छ। गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो।
एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ। 'अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो', इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने। बाढी पहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौँं सवारी साधन यही सडक भएर सञ्चालन भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।