काठमाडौं- अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्य पदक जितेको छ।
नेपालका लागि कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन्। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। ३० वर्षको विधामा कमल पहिलो भए। जसमा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कास्य पदक जिते। जित र प्रेम १३ औं सागका कास्य विजेता हुन्।
महिला ३० वर्षको इभेन्टमा पार्वती पहिलो भइन्। उक्त इभेन्टमा नेपालकी सजिंला तिमल्सिनाले कास्य पदक जितिन्। यसैगरी, ७ वर्षमुनिको इभेन्टमा नेपालका निकुन गुरुङले स्वर्ण जिते। उक्त विधामा निकुन प्रतिद्वन्द्वीविहीन थिए। एब्सोलुट तेक्वान्दो डोजाङका निकुनले ४.७ स्कोर गरे। महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन बनिन्। पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कास्य पदक जिते।
११ वर्षमुनिको इभेन्टअन्तर्गत पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कास्य पदक जिते। महिला १४ वर्षमुनिको इभेन्टमा सन्ध्या लामालाई तेस्रो स्थान प्राप्त भयो। १७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कास्य पदक पाए। ४० वर्षको उमेरसमूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कास्य जिते। ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बाहेरा कास्य जिते। ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत हासिल गरे।
डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटिएफ)को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रब्यदृष्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो। नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
आइओएफटिसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरुको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन्। १३औं संस्करण अमेरिकाको मिचिगनमा यसै वर्षको मे १ र २ तारिखमा हुने तालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।