कोलकता– आइपिएल क्रिकेटमा किंग्स इलावेन पञ्जाव अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पञ्जावले शनिबार भएको खेलमा कोलकातालाई उसैको घरेलु मैदान इडन गार्डेनमा डिएल मेथडमा ९ विकेटले हराएको हो।
पाँच खेलमा ४ जित निकालेको पञ्जावको ८ अंक भएको छ। दोस्रो स्थानको चेन्नई सुपरकिंग्सको ६ अंक छ। सनराईजर्स हैदरावाद, कोलकाताले पनि ६–६ अंक जोडेपनि रनरेटमा पछि छन्।
शनिबार कोलकाताले दिएको १ सय २५ रनको लक्ष्य पञ्जावले १ विकेटको क्षतिमा ११ बल बाँकी छदा पार गर्यो। पञ्जावले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरुद्ध बनेपछि १३ ओभरमा १ सय २५ रनको लक्ष्य दिइएको थियो।
पञ्जावको जितमा क्रिस गेलले आक्रामक ब्याटिङ गरे। उनले नटआउट ६२ रन जोडे। ३८ बल खेलेका गेलले ५ चौका र ६ छक्का प्रहार गरे। उनको यो लगातार तेस्रो अर्धशतक हो। यसअघि उनले हैदरावाद विरुद्ध १ सय ४ र चेन्नई विरुद्ध ६३ रन जोडेका थिए। अर्का ओपनर लोकेश राहुल ६० रनमा आउट भए। उनले २७ बलमा ९ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि टस हारेर पिहले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १ सय ९१ रन जोड्यो। कोलकाताका लगि ओपनर क्रिस लियोनले ७४ रन बनाए। उनले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यद्यपी अर्का ओपनर सुनील नारिनले १ रनमै आउट भए। तर रोबिन उथप्पाले ३४ रन जोडेर कोलकाताको इनिङ मजबुत पारे। कप्तान दिनेश कार्तिकले ४३ जोडे। उनले २८ बलमा ६ चौका प्रहार गरे। बलिङतर्फ पञ्जावका बरिन्धर श्रान र आन्द्रे टएले २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।