धनगढी-कोरोना भाइरस संक्रमणलाई दृष्टिगत गर्दै यस वर्ष थारु समुदायको गुरही पर्व सामाजिक दूरी कायम गरी मनाइने भएको छ । यस वर्ष आगामी शनिबार गुरही पर्व (नाग पञ्चमी) रहेको छ। सखी सञ्जाल कैलालीले सामाजिक दूरी कायम गरेर गुरही पर्व मनाउन सबैमा आग्रह गरेको छ।
सखी सञ्जाल कैलाली लगायतका संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा बुधबार बसेको बैठकले ‘आफू बचौं र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहाैं’ भन्ने भावसहित गुरही पर्व मनाउन आग्रह गरेको छ ।
बैठकपछि सञ्जाल कैलालीका कार्यवाहक संयोजक उन्नती चौधरीद्वारा जारी एक प्रेस विज्ञप्तिमा 'कोभिड-१९ को भयावह अवस्थालाई दृष्टिगत गर्दै यस वर्ष सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ–आफ्नै गाउँ घरको चोक चोकमा गुरही पर्व मनाउन' आग्रह गरिएको छ ।
वर्षा सकिएपछि किसानले उब्जाएको अन्न बालीमा किरा फट्याङग्रा नलागोस् र सबै दिदीबहिनीहरू स्वस्थ्य रहुन् भन्ने कामनासहित थारु समुदायमा गुरही पर्व मनाउने गरिन्छ ।
गुरही पर्वमा गाउँको चोकमा महिलाहरूले गुरही सेलाउने र पुरुषहरूले गुरहीलाई पिटेर भगाउने चलन रहेको छ। थारु सहमुदायमा यो पर्व मनाउँदा धान बालीमा लागेका किराहरू नष्ट भएर अन्नबाली सप्रिने विश्वास रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।