काठमाडौं– आठौं साउथ एसियन जुडो च्याम्पियनसिपमा नेपालकी ओलम्पियन खेलाडी फुपुल्हामु खत्री फाइनलमा पराजित भएकी छन्। शनिबार लगनखेलस्थित आर्मी स्पोर्ट्स सेन्टरमा भएको ६३ केजी मुनि तौलसमूहमा फुपुल्हामु फाइनलमा भारतीय खेलाडी सुनिबालादेवी हुइड्रोमसँग ग्राउन्ड टेक्निकको आधारमा पराजित भइन्।
फुपुल्हामुले २ वर्षअघि भारतमा भएको 'साग' मा स्वर्ण जितेकी थिइन्। लगत्तै ब्राजिलको रियो दि जेनेरियोमा भएको ओलम्पिक गेम्समा पनि उनले पूरा समय खेलेर इतिहास रचेकी थिइन्।
आगामी भदौमा इन्डोनेसियामा हुने एसियन गेम्सको तयारीमा रहेकी फुपु दक्षिण एसियाली स्तरमै पराजित भएपछि निराश भइन्। फाइनलमा पराजित भएलगत्तै उनी प्रशिक्षक देबु थापासँग अंकमाल गर्दै रोएकी थिइन्। पराजित भएपछि प्रतिक्रिया दिँदै उनले सोचेको जस्तो तयारी गर्न नपाएको बताइन्।
'भारतीय खेलाडी र मेरो स्तर उस्तै हो। तर, हामीले सोचेको जस्तो तयारी गर्न पाएका छैनौं', उनले निराश हुँदै भनिन्।
प्रतियोगितामा नेपालका लागि पहिलो स्वर्ण राजीव श्रेष्ठले जिते। उनले सय केजी मुनि समूहमा स्वर्ण हात पारेका हुन्। फाइनलमा उनले बंगलादेशका कलाम अजादलाई हराएका थिए।

महिला ५७ केजी मुनिको समूहमा पनि नेपालकी खेलाडी फाइनलमा पराजित भएकी छन्। नेपालकी लीला अधिकारीलाई भारतकी अनिता चानुले पराजित गर्दै स्वर्ण जितिन्। महिलाकै ५२ केजी मुनि तौलसमूहमा भारतकी कल्पनादेवीले पाकिस्तानकी मर्यामलाई पराजित गर्दै पहिलो स्थान हात पारिन्। महिलाको ४८ केजी मुनितर्फ पनि भारतकै सुशीलादेवीले पाकिस्तानकी हुमारिया अशिकलाई हराएर स्वर्ण जितेकी छन्।
पुरुष सय केजीमाथि तौलसमूहमा पाकिस्तानका साह हुसेन साहले श्रीलंकाका यासिथ रत्नानायकेलाई हराएर स्वर्ण जिते। यस्तै, पुरुष ९० केजी मुनिमा पाकिस्तानका क्वासिर खानले नेपालका श्रीराम मकजुलाई हराएर स्वर्णपदक हात पारे।
आशा गरिएका खेलाडी पराजित भएपछि नेपालले च्याम्पियनसिपको पहिलो दिन एक स्वर्णमै चित्त बुझाएको छ। पहिलो दिन भारतले ४ स्वर्ण जितेको छ भने पाकिस्तानले २ स्वर्ण हात पारेको छ। पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। आइतबार पनि ७ स्वर्णका लागि भिडन्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।