काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कर्मचारीसँगको कार्य सम्पादन सम्झौता प्रगति हप्ता दिनभित्र पेश गर्न निर्देशन दिएका छन्। बुधवार मन्त्रालयमा गत आर्थिक वर्षको प्रगति समीक्षा तथा चालु आवको कार्यक्रमबारे भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन्।
मन्त्रालयका अन्य शाखा अधिकृतले, उपसचिवसँग उपसचिवले सहसचिवसँग, सहसचिवले सचिवसँग र सचिवले मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौता अनुसारका कार्य प्रगति पेश गर्न सबैलाई निर्देशन दिइएको हाे। गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौताका आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले बताए। उनले सबैसँग हप्ता दिनभित्रमा वार्षिक कार्य सम्पादन सम्झौत्ता गर्ने समेत बताए।
मन्त्री भट्टराईले प्रत्येक महिनाको पहिलो हप्ता मासिक प्रगति समीक्षा र आउँदो महिनाको योजना पेश गर्न सबैलाई निर्देशन दिँदै आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिहरुलाई बजेट तथा कार्यक्रम साउनभित्र पास गर्न समेत निर्देशन दिए।
मन्त्री भट्टराईले आउँदो भाद्र १५ देखि होटल तथा रेष्टुराँ खुल्ने हुदाँ स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाउन सबै सरोकारवालाहरुसँग १० गतेभित्र समूहगत छलफल गरी अनुगमन संयन्त्र बनाउन निर्देशन दिए। उनले उपत्यकाका लागि पर्यटन विभाग, पर्यटन बोर्डले अनुगमन संयन्त्र निर्माण गर्नु पर्ने साथै प्रदेश स्तरमा प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउनको लागि अनुरोध गर्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।