चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको समयमा जनतालाई देखाएका सपना अनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन्।
एमाले र माओवादी केन्द्रको पार्टी एकतातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले भने, 'वाम एकतामा अहिले दरार आउन खोजेको छ, हाम्रो शुभकामना भनेको एकताका लागि हो।'
रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन गर्दै पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप समेत लगाए।
संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रस्ट भएको उनको भनाइ थियो।
उनले भने, 'दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रस्त पार्न खोजिएको छ, यसबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ।' नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको छ, उनले भने।
लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उनले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाए। सबै शक्ति विकेन्द्रित गर्नुपर्ने समयमा प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्नुले संघीयताको विरुद्ध जान खोजेको देखिएको उनले बताए।
एक फरक प्रसंमा उनले कांग्रेसभित्र न्यायिक, निष्पक्ष र पारदर्शी मूल्यांकन नेतृत्वले गर्न नसकेको बताए। यी कुरामा ध्यान दिन सकेको खण्डमा पार्टीभित्र कुनै पनि विवाद नआउने उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, कमला पन्त र बद्री पाण्डेले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताए। निर्वाचनमा व्यहोरेको हार आत्मसात् गर्दै गुटको अन्त्य गरी अघि बढ्नुपर्ने उनीहरुको भनाइ थियो।
आइतबारसम्म चल्ने राष्ट्रिय सम्मेलन तथा विधान अधिवेशनले संघलाई संघीय ढाँचामा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल र निर्णय गर्ने संघका केन्द्रीय अध्यक्ष जनक रावलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।