प्रतीकात्मक तस्बिर
पर्वत- कालीगण्डकी नदीमा आएको भीषण बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको प्रसिद्ध राम मन्दिरमा क्षति पुर्याएको छ। पर्वतको जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशालासहितका संरचना बाढीले कटान गरेर बगाएको छ।
बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाएको वडाध्यक्ष गोविन्द केसीले जानकारी दिए। अहिले पनि कटान निरन्तर छ। मन्दिर, पुजारी निवास र गलेश्वरबाट राममन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ। राष्ट्रिय परोपकार महासङ्घद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पुर्याएको उनले बताए।
गौशाला र धर्मशाला भत्किएपछि साधुसन्तलाई म्याग्दीतर्फ रहेको गलेश्वर आश्रममा लगिएको छ। राम मन्दिरमा नियमितरूपमा आठ साधुसन्त बस्दै आएका थिए भने आगन्तुकका रूपमा मुक्तिनाथ आवतजावत गर्ने साधुसन्त पनि बसोबास गर्दै आएका छन्। साधुसन्त र गाईलाई गलेश्वर आश्रममा सारिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। उनले, 'तत्कालका लागि गलेश्वर आश्रममा राखिएको छ, पालिकाको तर्फबाट केही राहत पनि दिने गरेका छाैं।'
बाढी र कटानले क्षतिग्रस्त मन्दिर क्षेत्रको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) सहितको टोलीले मङ्गलबार अवलोकन गरेको थियो। अध्यक्ष मल्लले पालिकाको तर्फबाट साधुसन्तलाई राहतसमेत दिए। उनले नदीको बहाव घटेपछि संरक्षणका काम गरिने आश्वासन दिए।
मन्दिर क्षेत्रलाई संरक्षण गर्नका लागि दीर्घकालीन गुरुयोजना बनाएर अघि जाने उनले बताए। 'सङ्घीय र प्रदेश सरकारसँग पनि सहयोग जुटाएर संरक्षण गर्ने योजना बनाएका छौँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।