काठमाडौं-नेपाल क्रिकेट संघ (क्यान) ले यो साताभित्र मुख्य प्रशिक्षकदेखि केही मुख्य पदका लागि दरखास्त आह्वान गर्ने भएको छ।
सोमबार क्यानको कार्यसम्पादन समितिले मुख्य प्रशिक्षक, महाप्रबन्धक, वित्त प्रबन्धक, क्रिकेट ब्यवस्थापक लगायतका पदमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग समन्वयन गरी पदपूर्तिका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो। चुनाव जितेर आएपछि क्यानका पदाधिकारीले प्रभावकारी कामै गर्न नसकेको आरोप लाग्दै आएको थियो।
लामो समयपछि क्यानले बल्ल रिक्त रहेको महत्वपूर्ण पदमा दरखास्त आह्वान गर्न लागेको हो।
त्यस्तै, क्यानले प्रत्येक प्रदेशमा पदपूर्तिका लागि ७ जना प्रशिक्षक नियुक्त गर्ने सम्बन्धी पनि सूचना प्रकाशित गर्ने भएको छ। क्यानले मुलपानी क्रिकेट मैदानका लागि ६ जना कर्मचारी थप गरेको जनाएको छ। त्यस्तै, पोखरा, भैरहवा र विरगञ्जमा १–१ जना पिच क्युरेटर राख्ने निर्णय गरेको छ।
क्यानको साधारणसभा भदौं १५ गतेभित्र सक्ने, राष्ट्रिय पुरुष टिमको फिजियोको जिम्मेवारी विक्रम न्यौपानेलाई दिँदै क्यानले केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।