काठमाडौं- जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले भोटेकोशीमा बाढी आउने संभावना रहेको भन्दै आसपासका बस्तीमा सतर्क हुन आग्रह गरेको छ। चीनको खासा क्षेत्रमा रहेको 'केरुङ च्छो' पोखरीमा पानी भरिएर फुट्न सक्ने संभावना रहेको र सो पोखरी फुटे भोटेकोशीमा बाढी आउन सक्ने भन्दै सतर्क रहन समितिले आग्रह गरेको हो।
'चीनको न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको चीनका समकक्षीहरुबाट जानकारी प्राप्त भएको छ। सो पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब अत्याधिक बढ्नेछ,' समितिका पदाधिकारी समेत रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सो पोखरी फुटे भोटेकोशी नदी किनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायत स्थानीय तहहरुका बजार तथा मानव बस्तीहरुलाई बगाउन सक्ने र ठूलो क्षति पुर्याउन सक्ने संभावना रहेकोले सतर्क रहन समितिले आग्रह गरेको हो।
संभावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन र भोटेकोशी किनारका बस्तीका सर्वसाधारणहरुलाई तत्काल उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउनसमेत समितिले आग्रह गरेको छ। चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको 'केरुङ च्छो' पोखरी खासाबाट केही माथि रहेको प्रजिअ ढकालले जानकारी दिए।
२०७३ असार २१ गते खासानजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो। त्यसबेला करिब डेढ सय घरका संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रविसे–तातोपानी सडक खण्ड तहसनहस बनाएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।