काठमाडौं- मनसुनी वर्षाको कारण बाढीपहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभर उद्धार तथा सहयोग तीव्र बनाएको छ।
सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोटलगायत १८ स्थानमा गएको पहिरो अतिप्रभावित जिल्लाका दुई सय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलब्ध गराएको छ। वितरित सामग्री सेटमा तार्पोलिन –१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४.५ मीटर, भाँडाकुडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन्। त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य रु. १० हजार रहेको छ।
'अहिलेसम्म २५ लाख मूल्य बराबरका सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलब्ध गराइएको छ। ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ,' नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले भने, 'नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौँ।
यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ।
बाढी पहिरोले हालसम्म २ हजार ४३८ भन्दा बढी परिवार विस्थापित भएको र ३ हजार ३५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारम्भिक अनुमान छ। त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार ४१५ घर पूर्ण क्षति भएका र ५६५ घरमा आंशिक क्षति पुगेको रेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए। बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभर परिचालित भएका छन् ।
यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई रेडक्रसले राहत सामग्री वितरण गरेको छ। त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।