काठमाडौं- अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ खण्डका आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको छ। धादिङ जिल्ला रोराङ गाउँपालिकास्थित मौवा खोलामा आएको बाढीले पुलछेउको जमिनको भागमा भत्काउँदा आवतजावत ठप्प भएको छ।
अविरल वर्षा र बाढीले राजमार्गको धादिङ क्षेत्रमा मात्र ६ स्थानमा क्षति पुगेको र सोमबार यातायात खुल्ने संभावना नरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन्।
'धादिङ र चितवनको सीमानामा पर्ने मौवा खोलाको पुलभन्दा केही अगाडिको भाग पुरै बगाएर खाल्डो पारेको छ। त्यसमा पुर्नुको विकल्प छैन। सोमबार गाडी चल्ने संभावना छैन।मौसमले साथ दिए मंगलबार त्यहाँको निरीक्षण गर्न हाम्रो टोली जान्छ। सबै कुरा सहज भयो भने मंगलबारसम्म राजमार्ग खुल्न सक्छ,' प्रजिअ तामाङले नेपाल लाइभसँग भने।
बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको हो। सो स्थानको निरीक्षणका लागि सेना र प्रहरीको टोली प्रस्थान गरेपनि ठाउँठाउँमा बाटो बन्द भएका कारण जान नसकेर फर्किएको उनले जानकारी दिए।
उनका अनुसार फुर्केखोलामा पनि ठूलो पहिरो खसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।