काठमाडौं-म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। चेल्सीले अब फाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।
आइतबार राति भएको खेलमा चेल्सीले युनाइटेडलाई ३-१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा ओलिभर जिराउड र मासन माउन्टले गोल गरे। युनाइटेडका ह्यारी मागुइरले आत्मघाति गोल गरेपछि चेल्सीले एक गोल भने उपहार पाएको थियो। यता, युनाइटेडका लागि ब्रुनो फर्नान्डेसले गोल गरे पनि जित दिलाउन सकेनन्।
पहिलो हाफको अन्तिम समयमा जिराउडले गोल गर्दै चेल्सीलाई १-० गोलको अग्रता दिलाए। ४६औं मिनेटमा माउन्टले गोल गरेसँगै चेल्सी २-० गोलले अघि रह्यो। तर खेलको ७४औं मिनेटमा मागुइरले आत्मघाति गोल गरेसँगै चेल्सीले ३-० गोलको अग्रता बनाएको थियो।
खेलको ८५औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि युनाइटेडले ३-१ गोलको स्थिति बनाएको थियो। तर बाँकी समयमा गोल हुन नसक्दा युनाइटेड चेल्सीसँग ३-१ गोलले स्तब्ध बनेको हो।
यसअघि शनिबार राति भएको सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै आर्सनल फाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।