काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका ईन्जिनियर सतीश कुमार गोइतको परिवारलाई उचित क्षतिपूर्ति र बीमा लगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको छ।
खानेपानी मन्त्री बिना मगरको निर्देशनमा मेलम्ची खानेपानी आयोजना विकास समितिले उक्त दुर्घटनामा मृतक र बेपत्ता भएकाहरुलाई उचित क्षतिपूर्ति र बीमा लगायतका सुविधा दिने प्रक्रिया अघि बढाउन निर्माण व्यवसायी सिनो हाईड्रोलाई निर्देशन दिएको छ। सुरक्षाका सबै उपायहरुको अबलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची समिति स्तब्ध भएको जनाएको छ।
राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा गत असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा ईन्जिनियर गोईतसहित अन्य चार जनालाई पानीले बगाएको थियो। पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता छन् भने घटनामा घाईते हुनु भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भइरहेको छ।
सशस्त्र प्रहरीको सहयोगमा सवारी चालक थापामगरको खोजी कार्य तीव्र पारिएता पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको आयोजनाले जानकारी दिएको छ।
उक्त घटनाको सन्दर्भमा आइतबार ज्ञापनपत्र बुझाउन आएका प्रोगेसिभ ईन्जिनियरिङ एशोसियशन नेपाल प्रदेश नं. २ को प्रतिनिधि मण्डलसँगको भेटमा खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको उक्त घटनाले आफू निकै स्तब्ध भएको बताएकी छन्। मन्त्री मगरले सुरुङको परीक्षण गर्दा यस्तो घटना होला भनेर आफूले कल्पना समेत नगरेको बताइन्।
‘राष्ट्र र जनताको निम्ति काम गर्दा गर्दै ईन्जिनियर गोईतको ज्यान गयो। सवारी चालक मगर अझै बेपत्ता हुनुहुन्छ। अन्य दुई जना घाईतेहरुको उपचार भईरहेको छ,’ उनले भनिन्, ‘यो घटनाले हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ। उहाँहरुले गरेको योगदान प्रति हामीले सधैं सम्झन हाम्रो तर्फबाट केही न केही गर्नेछौं।’
खानेपानी मन्त्री मगरसँग भेट गर्दै एसोसियसनका तर्फबाट ईन्चार्ज ईन्जिनियर राम एकवाल यादव र अध्यक्ष सागरकुमार चौधरीले ईन्जिनियर गोईतको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।