एजेन्सी- म्यानमार सरकारले पश्चिमी प्रान्त रखाइनमा २८ हिन्दुको शव फेला परेको जनाएको छ।
सरकारका अनुसार सुरक्षाकर्मीले आइतबार ती शव फेला पारेका हुन्। मृतकमध्ये २० जना महिला र ८ बालक भएको सरकारले बताएको छ। लडाकुले ८ जना महिलालाई मुसलमान बन्न दबाब दिएर बंगलादेश लगेको सरकारले दाबी गरेको छ।
सरकारले गत महिना रखाइनको मुस्लिम संगठन आराकान रोहिंग्या साल्वेसन आर्मी (एआरएसए) ले ती हिन्दुको हत्या गरेको आरोप लगाएको छ। एआरएसएले भने आफूले कहिल्यै पनि सर्वसाधारणमाथि आक्रमण नगरेको भन्दै घटनामा संलग्नता नभएको जनाएको छ।
रखाइनका अल्पसंख्यक हिन्दु समुदाय अहिले सेना–एआरएसएको द्वन्द्वमा पिल्सिएको छ। केही हिन्दु भने सेना र स्थानीय बौद्धले आफूहरुमाथि पनि आक्रमण गरेको भन्दै भागेर बंगलादेश पुगेका छन्।
कतिपयले भने सेनाका लागि गुप्तचरी गरेको आशंकामा एआरएसएका लडाकुले पनि आक्रमण गरेको बताएका छन्।
रखाइनबाट भागेका एक शरणार्थीले बंगलादेशबाट हिन्दु समुदायका अगुवालाई टेलिफोन गरेपछि रखाइनको उत्तरी गाउँ ये बा क्यानजिक सेनाले सर्च अभियान चलाएको सरकारले बताएको छ।
ती शरणार्थीले अगस्ट २५ मा ३ सय एआरएसए लडाकु पसेर सय जना स्थानीयलाई गाउँबाट बाहिर निकालेर हत्या गरेको दाबी गरेका छन्। सरकारका प्रवक्ता जा त्वेले यसबारे सुरक्षाकर्मीले छानबिन गरिरहेको बताएका छन्।
वर्षौंदेखि रखाइनमा अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायमाथि त्यहाँका आदिवासी बौद्धले आक्रमण गर्दै आएका छन्। रोहिंग्या समुदायलाई आप्रवासी मान्दै सरकारले पनि उनीहरूविरुद्ध हिंसा गर्ने गरेको छ।
सेनाले रोहिंग्याविरुद्ध कारबाही थालेपछि गत अगस्ट २५ मा एआरएसए लडाकुले रखाइनका ३० वटा सुरक्षा चौकी र एउटा सैन्य अखडामा आक्रमण गरी १२ जनाको हत्या गरेपछि हिंसा चर्केको थियो। त्यसपछि म्यानमारबाट ४ लाख ३० हजारभन्दा बढी रोहिंग्या देशबाटै पलायन भएका छ।
उत्तरी रखाइनमा म्यानमार सरकार अल्पसंख्यक रोहिंग्याको जातीय नरसंहार गर्ने प्रयास गरिरहेको संयुक्त राष्ट्रसंघले बताएको छ।
त्यस क्षेत्रमा पत्रकार, मानव अधिकारीवादी र राहतकर्मीलाई प्रवेश गर्न दिइएको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचारको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन्। आफूलाई अब्दुल्ला बताउने एआरएसएका प्रवक्ताले स्थानीय बौद्ध र सरकार दुवै रखाइनका हिन्दु र मुस्लिम समुदायबीच मतभेद उत्पन्न गर्न लडाकुले हिन्दुको हत्या गरेको झुटो आरोप लगाएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।