प्रतीकात्मक तस्बिर
बाजुरा- जिल्लाको बुढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको छ। स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरी कहाँ निवेदन दिएका आधारमा बुढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगामुढा भएकाे हाे।
गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए। बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा दिलीपलाई नियन्त्रणमा लिन खोज्दा शनिबार भएकाे ढुंगामुढाबाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए।
घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ। ढुंगामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन्। घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन्। प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।