प्रतीकात्मक तस्बिर
स्याङ्जा- आर्थिक वर्ष २०७६/७७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले ५२ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कर्णबहादुर चुनाराले बताए।
ट्राफिक प्रमुख चुनाराका अनुसार सबैभन्दा धेरै ट्र्याक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार पाँच सय राजस्व संकलन भएको छ। तीन हजार ९६६ ट्र्याक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार पाँच सय, एक हजार ८२४ जीप, कार, भ्यानबाट ११ लाख ६३ हजार पाँच सय, एक हजार २७१ बसबाट आठ लाख ४० हजार र ९३१ ट्रकबाट पाँच लाख ८८ हजार पाँच सय गरी सात हजार ९९२ सवारीसाधन कारवाहीमा पर्दा उक्त राजस्व संकलन भएको हो।
आव २०७५/७६ मा ट्राफिक प्रहरीले ७२ लाख ६८ हजार राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ को बन्दाबन्दीका कारण राजस्व संकलनमा करीब २९ प्रतिशतले कमी भएको ट्राफिक प्रमुख चुनाराले बताए। गत आर्थिक वर्षमा स्याङ्जामा भएका १५ वटा सवारी दुर्घटनामा चार पुरुष, तीन महिला र दुई बालबालिका गरी नौ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीले जनाएको छ।
'सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी, गाडी चालक र स्वयं यात्रुहरु पनि सचेत हुनु जरुरी छ', प्रमुख चुनाराले भने, 'सबै पक्षले ट्राफिक नियम पालना गरेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न महत्वपूर्ण उपलब्धि हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।