पुने- आइपिएल क्रिकेटमा चेन्नई सुपर किंग्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६४ रनले पराजित गर्दै चेन्नई अंक तालिकाको पहिलो स्थानमा उक्लिएको हो।
चेन्नईले ४ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेको छ। ६-६ अंक नै जोडेका कोलकता नाइटराइडर्स, सनराइजर्स हैदरावाद र किंग्स इलावेन पञ्जाव रनरेटमा पछि छन्।
पुनेमा शुक्रबार भएको खेलमा चेन्नईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको राजस्थान १८.३ ओभरमा १ सय ४० रनमा अलआउट भयो। राजस्थानका लागि वेन स्टोक्सले सर्वाधिक ४५ रन जोडे। उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। जोस बलटरले २२, कप्तान अजिन्का राहाणेले १६, स्टुवार्ड विनीले १० र जयदेव उनदकडले १६ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ चेन्नईका दीपक चहार, शार्दुल ठाकुर, डिजे ब्राभो र कर्ण शर्माले २-२ विकेट लिए। सेन वाटसन र इमरान ताहिरले १-१ विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नइले चेन्नइले ५ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो। चेन्नईका लागि सेन वाटसनले शतक प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले १ सय ६ रन बनाए। उनले ५७ बल खेल्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए। वाटननको यो टी-२० क्रिकेटमा चौथो शतक हो।
वाटसनको शतकसँगै चेन्नईका लागि सुरेश रैनाले २९ बलमा ९ चौकाको मद्दतमा ४६ रन जोडे। अम्बाती रायदु १२ रनमा आउट हुँदा डिजे ब्राभोले १६ बलमा नटआउट २४ रन जोडे। ब्राभोले ४ चौका हिर्काए। कप्तान महेन्द्रसिंह धोनी ५ तथा बलिङ्स ३ रनमा आउट भए। बलिङतर्फ राजस्थानका श्रेयास गोपालले ३ तथा वेन लाफहिनले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।